Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

परामर्श बैठक सम्पन्न, आदिवासी सवालमा सशक्तरुपमा एक भई लाग्नुपर्नेमा जोड

सोमवार, सेप्टेम्बर 13th, 2021

काठमाण्डौ, भाद्र, २०७८ ः नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) ले एसियाली आदिवासी जनजातिहरुको साझा मञ्च (AIPP) को सदस्य संस्थाहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (NIWF), आदिवासी जनजाति अपाङ्ग महासंघ (NIDA), आदिवासी जनजाति युवा महासंघ (YFIN, नेपाल आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (NGO-FONIN) बीच ३ दिने परामर्श बैठक सम्पन्न गरेको छ । उक्त बैठक २०७८, भाद्र ०८ देखि १० गते सम्म नगरकोट, भक्तपुरमा सम्पन्न भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीसम्वन्धी सुरक्षा सतर्कता अपनाई आयोजना गरिएको सो गोष्ठीमा विभिन्न उमेर समुहका (११ महिला र ९ पुरुष) गरी जम्मा २० जना सहभागीहरुको उपस्थिति रहेको थियो । कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीहरुबीच सो कार्यक्रम सम्पन्न गरियो । उक्त गोष्ठी अवधिमा स्वास्थ्य सामाग्रीहरु जस्तै, फेसशिल्ड, फेसमास्क, सेनिटाइजरको पनि व्यवस्था गरिएको थियो । गोष्ठी अवधिभर भौतिक दूरी लगायत अन्य स्वास्थ्य सावधानीका उपायहरु अपनाइएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) ले सन् २०१८ देखि यस प्रकारको परामर्श बैठक गर्दै आइरहेको छ । एसियाली आदिवासी जनजातिहरुको साझा मञ्च (AIPP) को आगामी रणनीतिक योजना २०२१ देखि २०२४ मा आदिवासी जनजातिसम्वन्धी सवालहरु समावेश गराउनुपर्ने कुरामा जोडदिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा एसियाली आदिवासी जनजातिहरुको साझा मञ्च सदस्य संस्थाहरुले संस्थागत प्रतिनिधित्व गर्दै आ–आफ्नो संस्थाले उठाउंदै आएका मुख्य विषयहरु र सवालहरु, कार्यक्रम र परियोजनाहरु र आगामी योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा AIPP को परामर्श निर्देशिकाको साथै नेपालका आदिवासी जनजाति आन्दोलन र अभियानका पाटोहरु, आदिवासी जनजाति अभियानका क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुभव र आदिवासी जनजातिका सहभागीताकाहरु उपकरणहरु आदिवासी मुद्धाहरुसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि, हरित जलवायु कोष, आदिवासी जनजातिका अधिकारसम्बन्धी विज्ञ संयन्त्र, वन कार्वन साझेदारी सुविधा, जलवायु लगानी कोष, जैविक विविधता महासन्धि आदि लगायत दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, आदिवासी जनजाति महिला सम्वन्धी संयन्त्र र अन्य साझा सवालहरुको बारे प्रस्तुतीकरण र छलफल भएको थियो । साथै यी संयन्त्रहरुमा नेपालका आदिवासी जनजातिका महत्वपुर्ण मुद्दा र सवालहरु भएकोले रणनीति तथा विभिन्न कार्यक्रमहरुमा ती मुद्दा र सवालहरु सम्वोधन गर्न गराउन सामूहिक रुपमा सशक्त भई लाग्नुपर्नेमा सवै सहभागीहरुले जोड दिनुभयो ।

नेपालमा AIPP का सदस्य संगठनहरुको रुपमा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN), राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (NIWF), आदिवासी जनजाति अपाङ्ग महासंघ (NIDA), आदिवासी जनजाति युवा महासंघ (YFIN) र आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (NGO-FONIN), रहेका छन् भने आदिवासी जनजाति पत्रकार महासंघ (FONIJ) र आदिवासी जनजातिको मानव अधिकारसम्वन्धी वकिल समूह (LAHURNIP) साझेदार संस्थाका रुपमा रहेका छन् ।