Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

जलवायु परिवर्तनसम्वन्धी राष्ट्रियस्तरको अन्तरपुस्ता सम्वाद र तालिम सम्पन्न

सोमवार, सेप्टेम्बर 13th, 2021

कठमाण्डौ, भाद्र, २०७८ः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा २०७८ भाद्र १२ देखि १४ गतेसम्म नगरकोट, भक्तपुरमा ‘‘जलवायु परिवर्तनसम्वन्धी राष्ट्रियस्तरमा अन्तरपुस्ता सम्वाद र तालिम’’ विषयमा ३ दिने गोष्ठी सम्पन्न भयो । गोष्ठीमा १४ महिला र ७ पुरुष गरी जम्मा २१ जना सहभागीहरुको उपस्थित रहेको थियो । उक्त गोष्ठीको पृष्ठभूमी र उद्देश्यमाथि प्रकाश पार्नुहुँदै महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक टुंगा भद्र राईले “विश्वभर जल्दोबल्दो समस्याको रुपमा रहेको जलवायु परिवर्तनसम्वन्धी अन्तर्राष्ट्रियस्तरमा बनेका विभिन्न संयन्त्रहरुमा नेपाल सरकारले के गरिरहेको छ ? ती संयन्त्रहरुमा नेपालका आदिवासी जनजातिका मुद्दा र सवालहरु के के हुने ? सवालहरु सम्वोधन गर्न सरकारलाई कसरी दवाव दिने ? यी विषयहरुमा छलफल गर्न यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीसम्वन्धी सुरक्षा सतर्कता अपनाई आयोजना गरिएको सो गोष्ठीमा विभिन्न उमेर समुहका २१ जना सहभागीहरुको उपस्थिति रहेको थियो । कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीहरुबीच सो कार्यक्रम सम्पन्न गरियो । उक्त गोष्ठी अवधिमा स्वास्थ्य सामाग्रीहरु जस्तै, फेसशिल्ड, फेसमास्क, सेनिटाइजरको पनि व्यवस्था गरिएको थियो । गोष्ठी अवधिभर भौतिक दूरी लगायत अन्य स्वास्थ्य सावधानीका उपायहरु अपनाइएको थियो ।

सो गोष्ठीमा वृत्रचित्रका साथै जलवायु परिवर्तन, जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि अनुकूलन र न्यूनीकरण, रेडप्लस, हानी र नोक्सानी, राष्ट्रिय अनुकुलन योजना, पेरिस सम्झौता र रुलबुक, राष्ट्रिय निर्धारित योगदान दस्तावेज–२०२०, हरित जलवायु कोष, आदिवासी जनजातिसम्वन्धी संयन्त्र, जैविक विविधता महासन्धि, दिगो विकास लक्ष्य आदि विषयहरुमा जलवायु परिवर्तन विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा आदिवासी जनजातिसँग परामर्श मात्र नगरी समुदायस्तरमा नै छलफल गरी अगाडि बढ्नुपर्ने, साथै त्यस्ता छलफलहरुमा आदिवासी जनजातिको संस्थागत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने र आदिवासी महिलाका मुद्दाहरुलाई पनि समेट्नु पर्ने कुरामा जोड दिइएको थियो ।
गोष्ठीमा सहभागीहरुले प्रस्तुत गरेका सुझावहरु ः
१) जलवायु परिवर्तनसम्वन्धी नेपाल सरकारद्वारा बनाइएका विभिन्न नीति नियमहरुमा आदिवासी जनजातिको हैसियत केवल सरोकारवाला मात्र नभई अधिकारवाला हुनुपर्ने ।
२) नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आयोजना गरेका तालिम तथा गोष्ठीहरुमा आदिवासी जनजातिको संस्थागत प्रतिनिधित्व हुनुपर्ने ।
३) आदिवासी जनजातिका परम्परागत ज्ञान, सीप, अभ्यास, भाषा, संस्कृति, सम्पदा आदिको संरक्षण गर्नेतर्फ ध्यान दिई जलवायु परिवर्तनसम्वन्धी नीति तथा कार्यक्रमहरु बनाउनु पर्ने ।
४) आदिवासी जनजातिको क्षेत्रमा कुनै पनि परियोजना निर्माण गर्नुअघि उनीहरुको स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी (FPIC) अनिवार्य रुपमा गरिनुपर्ने ।