latest / News
समुदायमा आधारित सिँचाइ व्यवस्थापन र मर्मतसम्भार
बिहिवार, नोभेम्बर 2nd, 2023
मुस्ताङ : हिमालपारीको जिल्ला, चिसो मरुभुमी र माटोको सहर भनेर चिनिने उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ‘‘लोबा’’ आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । लोबा आदिवासी जनजाति शताब्दीऔं देखि संरक्षित हुँदै आएको भिन्न संस्कृति, परम्परा, वास्तुकला, सिँचाई प्रणाली र भिन्न जिवनशैलीका लागि परिचित छ । लोमान्थाङ गाउँपालिका, चिनको तिब्बत स्वायत्त क्षेत्रसंग सीमा जोडिएको समुन्द्री सतहबाट ३८५० मिटर उचाईमा अवस्थित छ । लगभग ९ सयको हारहारीमा लोबा आदिवासी जनजाति यस क्षेत्रमा बसोबास गर्दछन् । उनीहरुको मुख्य पेशा कृषि हो ।
अत्याधित चिसोका कारण केही समयका लागी लोबा आदिवासी जनजातिहरु अन्य ठाउँमा बसाई सर्ने गर्दछन् । अन्य ठाउँबाट फर्किएपछि लोबा आदिवासीहरूले गर्ने पहिलो काम भनेको परम्परागत सिँचाइ (कुलो) हरूको व्यवस्थापन र मर्मत नै हो । लोबा समुदाय कृषिमा निर्भर रहने हुनाले सिँचाइ गर्नु अनिवार्य हो । सिँचाई (कुलो) माटोले बनेको हुनाले अत्यन्तै नाजुक र विभिन्न ठाउँबाट चुहावटको जोखिममा रहेकोले प्रत्येक वर्ष व्यवस्थापन र मर्मतसम्भार गर्नुपर्ने हुन्छ । यी देखिएका समस्याहरूलाई ध्यानमा राख्दै, नेपाल आदिवासी जनजाति महासंघ (Nepal Federation of Indigenous Nationalities-NEFIN) जलवायु परिवर्तन साझेदारी कार्यक्रमले पवनका वेफाइन्डरसँगको सहकार्यमा लोमान्थाङ गाउँपालिकामा लोबा आदिवासी जनजातिहरूको जीवनयापनलाई निरन्तरता दिन समुदायमा आधारित सिँचाइ (कुलो) व्यवस्थापन र मर्मतसम्भारको पहल गरेको छ । संयोजक श्री छेवाङ जिग्मे विष्टको नेतृत्वमा २०२३ मा यो पहल सुरु भएको हो ।
असोज, २०८० मा, कार्यक्रमका निर्देशक श्री तुंगा भद्र राईको नेतृत्वमा र श्री छेवाङ जिग्मे बिष्टको समन्वयमा नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रम टोलीले सामुदायमा आधारित सिँचाइ (कुलो) व्यवस्थापन र मर्मतसम्भार पहलको सम्पूर्ण कामको अनुगमन र मुल्याँकन गरेको थियो ।
अनुगमन भ्रमणको क्रममा विभिन्न उपकरणहरु जडित र दिगो पक्की गरिएको सिंचाई (कुलो) को अवलोकन गरिएको थियो । उक्त पक्की कुलोहरूमा रहेको पानी विभिन्न स्रोतहुँदै सम्पूर्ण क्षेत्रमा पुगेका छन् । लोबा आदिवासी जनजातिको ज्ञान र अभ्यासमा आधारित उपयुक्त ठाउँमा आवश्यक पानी डिभाइडरहरू राखिएको थियो । मानिस, जनावर र सवारीसाधनको उच्च आवतजावत हुने ठाउँमा पक्कीले ढाकिएर पानीको चुहावट रोक्ने सुनिश्चित गरिएको थियो । पक्की गरिएको सिँचाइ (कुलो) हरूले पानी चुहावट र आकस्मिक पानी खेतमा प्रवेशबाट खेतको सुरक्षा सुनिश्चित गरेको छ । यसरी सिँचाइ (कुलो) को मर्मतसम्भार पछि खेतीपातीमा सिँचाइको लागि कम जनशक्तीको प्रयोग हुँदै आएको छ । यस पहलबाट करिब १५० घरधुरी लाभान्वित भएका छन् । सिँचाइ (कुलो) सम्बन्धी कामलाई सहज र दिगो बनाउन सहयोग गर्ने सहयोगीप्रति लोबा आदिवासी जनजातिले आभार व्यक्त गरेका थिए ।