Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

लोमान्थाङमा लोवा आदिवासी जनजातिको प्रथाजनित संस्था र अधिकारको प्रवद्र्धन

मंगलवार, अक्टोबर 31st, 2023

मितिः २०८० असोज २३ गते (अक्टोबर १०, २०२३), लोमान्थाङ
माटोको शहर भनेर पनि चिनिने हिमाल पारीको एक ऐतिहासिक गाऊँ लोमान्थाङ लोवा आदिवासी जनजातिहरुको पुर्खौली थातथलो हो । समुन्द्री सतहबाट ३८५० मिटर उचाईमा रहेको मुस्ताङ जिल्लाको उपल्लो भेगमा पर्नेे यो गाऊँमा लोवा जातिको बिशिष्ठ जिवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरताले भरिएको छ ।

लोमान्थाङमा, लोवा आदिवासी जनजातिहरु र अष्ट्रेलियन महामहिम राजदूत श्री फेलोसिटि भोल्क बिच सम्वाद सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारीले आयोजना गरेको थियो । कार्यक्रमको अवसरमा लोमान्थाङ गाउँपालिकाका उपप्रमुख छयुमी विष्ट, लोमान्थाङ गाउँपालिकाका ५ नंम्बर वडाका वडा अध्यक्ष डुके विष्ट, लोमान्थाङ युवा क्लबका सल्लाहकार छ्यवाङ जिग्मी विष्ट, लोमान्थाङ युवा क्लबका अध्यक्ष पेमा तेञ्जिङ गुरुङ, र आमा समूहका प्रतिनिधिहरुका साथै लोमान्थाङ गाउँपालिकाका ५ वटा वडाहरु अन्तर्गतका विभिन्न गाउँहरु जस्तै, छोसेर, न्याम्डोक, चुङजुङ, किम्लिङ, साम्जोङ र ठिङ्करबाट ३७ जना सहभागीहरुको उपस्थित रहेको थियो ।

अष्ट्रेलियन दूतावासका कार्यक्रम तथा अनुसन्धान अधिकृत कृष्ण बहादुर कार्की र डब्लू डब्लू एफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङको पनि उपस्थिति रहेको उक्त अन्तरक्रियात्मक कार्यक्रममा लोमान्थाङमा जलवायु परिवर्तनको अवस्था, यसको असर, लोवा आदिवासी जनजातिको जिवन पद्धति, संस्कृति, सम्पदा, जलवायु परिवर्तन जन्य समस्या र अन्य धरै बिषयमा बिचार आदानप्रदान भयो । यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रम निर्देशक टुंग भद्र राईले लोमान्थाङमा गरेको अनुसन्धानबाट सिकेका र देखेका निष्कर्षहरु पनि प्रस्तुत गर्नुभयो ।

लोवा आदिवासी जनजाति परम्परा अनुसार छ्यूमी बालेर खादा आदानप्रदान गरी प्रारम्भ गरिएको कार्यक्रम लोवा साँस्कृतिक नाच, गित प्रदर्शन र स्यूच्या लिएर सम्पन्न भएको थियो ।