Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

साईनो अभियानः अधिकारमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षण सम्वन्धी गोष्ठी

शुक्रवार, मे 15th, 2026

पोखराः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजना र GEF-7 इन्क्युसीभ कन्जरभेशन इनीशियटिभ (आईसीआई), आइयुसियन (IUCN) को प्राविधिक सहयोगमा, साईनो अभियान अन्तर्गत अधिकारमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षण सम्वन्धी गोष्ठी मिति २०८३ बैशाख २२ देखि २४ (May 5-7, 2026) गतेसम्म कास्की, पोखरामा सम्पन्न भएको हो । साईनो अभियान संचालित जिल्लाहरु लमजुङ, कास्की, मुस्ताङ र मनाङ, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बुका साथै जातिय संघ संस्था, जिल्ला समन्वय परिषद, प्रदेश समन्वय परिषद, सामुदायिक रेडियो कार्यक्रमका मिडियाकर्मी, सरकारी प्रतिनिधी, संघिय परिषद सचिवालयका पदाधिकारीहरु सहित ६० पुरुष र ३८ महिला गरी जम्मा ९८ जना सहभागीहरु रहेका थिए ।

कार्यक्रमलाई उपलब्धीमुलक बनाउँन निम्न सत्रहरु संचालन गरिएको थियो ः
१) नेपाल आदिवासी जनजाति महासंघ र साईनो परियोनाको संक्षिप्त परिचय ।
२) जलवायु परिवर्तन, यसका कारण र विश्वमा यसले सिर्जना गरेका असरहरु ।
३) जलवायु परिवर्तन अनुकूलन र न्युनीकरण, नेपालको राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contribution/NDC) र आदिवासी जनजातिको दृष्टिकोणबारे जानकारी ।
४) जैविक विविधता महासन्धि (CBD) र राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना (NBSAB) मा आदिवासी जनजातिका मुद्दाहरु ।
५) अन्तर्राष्ट्रिय श्रम संगठन (ILO 169) र आदिवासी जनजातिको अधिकार सम्वन्धी घोषणापत्र (UNDRIP), स्वतन्त्र, अग्रिम जानकारीसहितको       मञ्जुरी (FPIC) बारे जानकारी ।
६) आदिवासी जनजातिको ज्ञान प्रणाली र दृष्टिकोणको पुस्तान्तरण ।
७) ज्ञान प्रणालीको निरन्तरतामा आदिवासी महिला र युवाहरुको भुमिका ।
८) शब्दावली र सन्दर्भको पासोमा आदिवासी अधिकार ।
तिन दिनसम्म संचालन गरिएको सो गोष्ठीमा, जलवायु परिवर्तनका कारण अस्ताउँदै गरेको सामजोङ गाउँका आदिवासी बस्तीमा सामाजिक र साँस्कृतिक पाटाहरु हराउँदै गएको, भोजपुर जिल्लामा रहेको साल्पा पोखरी र सिलिचुङ डाँडा (किरात राई आदिवासी जनजातिको मुन्धुमी आस्थाको केन्द्र) लाई सरकारले मेरापिक राष्ट्रिय निकुञ्जका लागी प्रस्तावना गरेको र राष्ट्रिय निकुञ्ज हुन नदिन महासंघले पहल गरिरहेको त्यसैगरी अन्य देशहरुमा पनि आदिवासी अभियानका उद्दाहरणहरुबारे प्रकाश पारिएको थियो ।
नेपालको संविधान, संघियता, ऐन कानुनमा आदिवासी जनजाति, आदिवासी महिला, जैविक विविधता, जलवायु परिवर्तनमा आदिवासी जनजातिहरुको सवाल, पैरवी, प्राकृतिक स्रोत ब्यवस्थापनका उपलब्धी लगायत २९ जनालाई ब्यवसायिक तालिमको लागी छात्रवृति प्रदान गरिएको र त्यसका उपलब्धीहरु बारे महत्वपुर्ण विषयमा छलफल र बिचारविमर्श सम्पन्न भयो । साथै, कार्यपत्र प्रस्तुती, भिडियो प्रदर्शन, समुहगत छलफल, प्यानल छलफल, सामुहिक कार्य, प्रश्नउत्तर र साँस्कृतिक गीत तथा नाँचगान प्रस्तुतीको माध्यमवाट कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइयो । यस तिनदिने छलफल र अनुभव आदानप्रदान कार्यक्रमले सहभागीहरुलाई जलवायु कार्य र जैविक विविधतासम्वन्धी हरेक पक्ष वा परियोजनामा आफ्ना अधिकार बुझ्न र दाबी गर्न सिकाई र प्रेरणा प्राप्त गरेको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । उक्त गोष्ठीका सहजकर्ता तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष धनमान गुरुङ रहनुभएको थियो भने नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समुह (लाहुर्निप) का मनोज आठपहरीया राईले प्रस्तुती गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ