Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

विश्व सामाजिक मञ्च २०२४ सम्पन्नः जलवायु कार्यमा आदिवासी जनजातिद्वारा एक्यबद्धताको लागि आव्ह्रान ।

सोमवार, फ्रेवुअरी 19th, 2024

काठमाडौंः विश्व सामाजिक मञ्चको ५ दिने १६औं सम्मेलनको दौरानमा नेपाल आदिवासी जनजाति महासंघले यहि मिति २०८० फाल्गुण ०४ गतेका दिन काठमाडौंको भृकुटीमण्डपमा जलवायु परिवर्तन सम्वन्धी छलफल र अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त छलफलमा आदिवासी जनजातिको संघसंस्थाहरुका साथै जलवायु परिवर्तनसम्वन्धी चासो राख्ने विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । जलवायु परिवर्तनमा आदिवासी जनजातिको अधिकार, मुद्दा र सरोकारहरुको उठान गर्नु सो कार्यक्रमको उद्देश्य रहेको थियो ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी परम्परा अनुसार छयुमी बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने आदिवासी गान बजाउनुका साथै जलवायु परिवर्तन सम्वन्धी भिडियो डकुमेन्ट्री प्रस्तुतीकरण र सम्वन्धीत प्रकाशनहरु पनि वितरण गरिएको थियो । कार्यक्रममा प्यानल छलफलका क्रममा वक्ताहरु, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल माझी उत्थान संघका केन्द्रिय अध्यक्ष चिनीमाया माझी, नेपालका आदिवासीहरुको मानव अधिकारसम्वन्धी वकिल समूह (लाहुर्निप) का कार्यक्रम संयोजक दुर्गामणी राई (याम्फु), नटिङगम ट्रेन्ट विश्वविद्यालय, बेलायतका अनुसन्धानकर्ता डा. फिलिपे मेलो, नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक छिरिङ वाङमो गुरुङ आदिले आ–आफ्नो प्रस्तुतीकरण र छलफल गर्नुभएको थियो ।
आदिवासी जनजातिले जलवायु परिवर्तनका कार्य अनुकूलन र न्युनीकरणमा दिएको योगदानको चर्चा गरिनुका साथै वन तथा वातावरण संरक्षणका लागि अधिकार सम्पन्न बनाउनुपर्ने, आदिवासी जनजातिको भूमि, भु–भाग खोसिएको टिप्पणीका साथै जलवायु परिवर्तन सम्वन्धी विद्यमान नीतिहरु परिमार्जन गर्नुपर्ने, आधुनिक विकासले माझीहरुको अस्तित्व लोप हुन लागेकोले सुनकोशी मरिन डाईभर्सनबाट माझीहरु उठीबास भएको र आदिवासीका आर्थिक मुल्य नभएका मूर्त तथा अमूर्त सम्पदामा चुनौती आएको आदि बिषयमा छलफल गरिएको थियो । त्यसैगरी पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले सोलुखुम्बु हिमाली जिल्लामा वसोवास गर्ने शेर्पा आदिवासी जनजातिलाई जलवायु परिवर्तनले पारेको नकारात्मक असर र यसबाट बच्न गरिएका प्रयासहरुको बारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।
सो छलफल कार्यक्रममा जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुङ्ग भद्र राईले सहजीकरण गर्नुभएको थियो भने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कार्यक्रमको समापन गर्नुभएको थियो ।