Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

नेपालका अति प्रभावित आदिवासी जनजातिलाई कोभिड–१९ राहत वितरण

शुक्रवार, अप्रील 16th, 2021

विश्वभरी नै महामारीको रुपमा फैलिदैं गईरहेको कोभिड–१९ अर्थात कोरोना भाईरसबाट वर्तमान स्थितिमा विश्व जगत नै आक्रान्त छ । यो महामारीले विश्वभरी करोडौं मानिसहरु प्रभावित भएका छन् भने लाखौं मानिसहरुको ज्यान लिइसकेको अवस्था छ । नेपाल पनि यो महामारीवाट अछुतो रहन सकेन । कोरोना महामारी रोकथामको एक मात्र प्रभावकारी उपाय बन्दाबन्दी (लकडाउन) भएतापनि सो उपाय अपनाउँदा जिविकोपार्जनमा प्रत्यक्ष असर परेको छ । राज्यद्वारा बञ्चितीकरणमा पारिएका आदिवासी जनजाति समुदाय कोरोना महामारीबाट अति प्रभावित र जोखिमको अग्रपंक्तिमा छन् । बिशेषगरी, दैनिक मज्दुरीबाट जिवीकोपार्जन चलाउने आदिवासी जनजातिहरुको अवस्था नाजुक छ । राज्य सँयन्त्रमा र उपलब्ध कुनै पनि सेवा सुविधा र सुचनामा पहुँच छैन् । सामाजिक, राजनैतिक र आर्थिक बञ्चितीकरणको साथै कोरोना महामारीको जोखिम र सास्ती यिनै समुदायलाई अझ बढी र विविध पाटोवाट परिरहेको छ ।
यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले एसियाली आदिवासी जनजाति मञ्च (एआइपिपि) को आर्थिक सहयोगमा सबैभन्दा बढी प्रभावित आदिवासी जनजातिलाई राहत कार्यक्रमको आयोजना गरयो । जुलाई १ देखि नोभेम्वर १, २०२० सम्म संचालित उक्त आयोजनाको मुख्य उद्देश्य कोभिड–१९ महामारीबाट अति प्रभावित आदिवासी जनजातिहरुलाई कठिन समयमा मद्दत गर्नु रहेको थियो ।
गत असोज १२, २०७७ का दिन नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको टोलिले कोरोना महामारीबिच सुरक्षा सर्तकता अपनाई विभिन्न उमेर समुहलाई चामल, दाल, नुन र खाना पकाउने तेल आदि खाद्यान्न (राहत) वितरण गरेको थियो । जसमा ६७ जना पुरुष र ६८ जना महिला गरी १३५ जना प्रत्यक्ष लाभान्वित भएका थिए ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको संयोजनमा आफु आबद्ध सँस्थाहरु आदिवासी जनजाति युवा महासँघ (वाइफिन) र राष्ट्रिय आदिवासी जनजाति महिला महासँघ (निफ) ले ३ जना पुरुष र १४० जना महिला गरी १४३ जनालाई चामल, नुन, दाल, खाना पकाउने तेल, साबुन लगायत खाद्यान्न वितरण गरेको थियो भने आदिवासी जनजाति अपाङ्ग सँघ (निडा) ले ४९ पुरुष र २७ महिला गरी ७६ जनालाई चामल, नुन, दाल, खाना पकाउने तेल, चिनी, चिउरा, साबुन, फेस मास्क आदि वितरण गरेको थियो । यस राहत वितरण कार्यक्रमवाट ३५७ जना पुरुष, ७०५ जना महिला र अपाङगता भएका ब्यक्तिहरु ९० जना गरी जम्मा ११५२ र उहाँहरुको परिवार सदस्यहरु प्रत्यक्ष लाभान्वित भएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आदिवासी समुदायहरुलाई सुसूचित र सशक्तिकरणको लागि कोभिड–१९ सम्वन्धि महत्वपुर्ण दस्तावेजहरु पनि प्रकासन गरेको छ ।

यस आयोजना कार्यान्वयनवाट सिकेका सिकाईहरु ः
१) कोभिड–१९ को यस विषम परिस्थितिमा सवैभन्दा प्रभावित आदिवासी समुदायलाई मद्दत गर्नु कठिन छ तर महत्वपुर्ण छ ।
२) यस्ता राहत सामाग्रीहरुले उनिहरुको दैनिक आवश्यक्ता पुर्ति गर्ने मात्र होईन कि बाँच्नको लागि मनोबैज्ञानिक शक्तिको पनि लाभ प्रदान गर्दछ ।
३) सिमित स्रोतलाई बुद्धिमानी ढंगले वितरण गर्नु आवश्यक छ ।