Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

जलवायु परिवर्तनसम्वन्धी तालिम तथा गोष्ठी सम्पन्न, सामुहिक एकता र पहिचानमा जोड

सोमवार, मे 15th, 2023

पोखरा । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले यहि मिति २०८० बैसाख २७ देखि २९ (May 10-12, 2023) गते सम्म पोखरामा आदिवासी जनजाति अगुवाहरुलाई एकै थलोमा भेला गरी ३ दिने तालिम तथा गोष्ठी सम्पन्न गरयो । उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, प्रदेश समन्वय परिषद, सम्वन्धन प्राप्त संगठनहरु, जातिय संघ संस्थाहरु र संघिय परिषद सचिवालयबाट जम्मा ४८ जना (१९ महिला र २९ पुरुष) सहभागीहरुको उपस्थित रहेको थियो ।  International Work Group for Indigenous Affairs (IWGIA) को सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
आदिवासी जनजातिहरुलाई जलवायु परिवर्तनको पृष्ठभुमि, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमहरु र वित्तिय स्रोतहरुको व्यवस्थापनसम्वन्धी सचेतना र क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजातिको चलन अनुसार बत्ति/छुमी बाली कार्यक्रमको शुभारम्भ गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म बहादुर गुरुङले, सहभागीहरुलाई स्वागत गर्नुहुँदै कस्तुरीले आफ्नो नाभीको बास्ना थाह नपाए जस्तो आदिवासी जनजातिहरुले आफ्नो पहिचान र महत्व थाह नभएको वताउनुभयो ।
त्यसैगरी, कार्यक्रमका निर्देशक टुंगा राईले, जलवायु परिवर्तनसम्वन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको प्रतिवद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भीर बन्नुपर्ने र जलवायु परिवर्तनले आदिवासी जनजातिलाई सवैभन्दा बढी असर गर्ने हुनाले नीतिगत तहमा पैरवी गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो । आदिवासी जनजातिको परम्परागत ज्ञान, सीप र अभ्यासलाई निरन्तरता दिन भावी पुस्ताका लागि अनिवार्य रहेको पनि वताउनुभयो ।
स्रोतब्यक्ती सुख बीर थामीले, जलवायु परिवर्तन न्युनीकरणको नाममा भित्रिने विकासे परियोजनाहरुले आदिवासी जनजाति आफ्नो थातथलो भुमि/क्षेत्रबाट विस्थापित हुँद गइरहेकोले सचेत भई लाग्नुपर्ने वताउनुभयो ।
त्यसका साथै, जलवायु परिवर्तनका कारण र असरहरु, संयुक्त राष्ट्रसंघीय खाका महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरुको सम्मेलन र मुख्य मुख्य निर्णयहरु, पेरिस सम्झौता (Paris Agreement), जलवायु परिवर्तनका कार्य अनुकूलन र न्युनीकरण (Adaptation and Mitigation), नेपालको राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contribution/NDC),  हानी र नोक्सानी (Loss and Damage), रेडप्लस सम्वन्धी अध्यावधिक, REDD Plus र ५ क्रियाकलापहरु र ४ अंगहरु, क्यानकुन सुरक्षामापदण्ड (Cancun Safeguard), कार्वन लाभबाँडफाँड (Benefit Sharing Plan), नेपालको वननीति, वन व्यवस्थापन प्रणाली आदिको वारेमा प्रस्तुतीकरण गरिएको थियो भने जलवायु वित्त, हरित जलवायु कोष (Green Climate Fund), र आदिवासी नीति, विकासे परियोजनाहरुले पार्ने असरहरु, आइएलओ १६९, संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप) र आदिवासी जनजाति अधिकार, आगामी आदिवासी जनजाति अभियानबारेमा पनि प्रस्तुतीकरण गरिएको थियो ।
जलवायु परिवर्तनद्वारा सिर्जित समस्याहरुसंग जुध्न र समाधान गर्न एकजुट भै सधैं तत्पर रहने प्रतिवद्धता सहभागीहरुले ब्यक्त गरे । तालिममा स्रोतब्यक्ति अरुण राई र सुख वीर थामीले प्रस्तुती गर्नुभएको थियो ।