Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

जलवायु परिवर्तनसम्वन्धी सवाल र पैरवीबारे आदिवासी जनजाति युवालाई तालिम प्रदान

आइतवार, अक्टोबर 10th, 2021

काठमाडौं,असोज २०७८ ः हाल विश्वमा जलवायु परिवर्तन एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बनेको छ । यसै सन्दर्भमा, जलवायु परिवर्तनमा आदिवासी जनजाति युवालाई सचेतना, सशक्तीकरण र सहकार्यका लागि नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आदिवासी जनजाति युवालाई लक्षित गरी मिति २०७८ असोज १४ र १५ गते दुई दिवसीय तालिम नगरकोटको होटल कन्ट्रि भिल्लामा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न आदिवासी जनजाति संघ संस्थाका २१ जना युवा प्रतिनिधिहरु (१२ पुरुष र ९ महिला) ले सहभागीता जनाउनु भएको थियो ।

कोभिड–१९ महामारीको जोखिम रहेको वर्तमान अवस्थामा सुरक्षा मापदण्डको बारेमा सूचना प्रदान गर्नुका साथै गोष्ठी अवधिमा स्वास्थ्य सामाग्रीहरु जस्तै, फेसशिल्ड, फेसमास्क, सेनिटाइजरको व्यवस्था गरिएको थियो । गोष्ठी अवधिभर भौतिक दुरीलगायत अन्य स्वास्थ्य सावधानी अपनाईएको थियो । कोरोना संक्रमणको जोखिमको कारण सीमित सहभागीहरुबीच उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

तालिमको मुख्य उद्देश्य सहभागीहरुलाई जलवायु परिवर्तन र आदिवासी जनजातिका सवालहरु, सामुहिक अधिकार, जल, जमिन र जंगलसँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्वन्ध र अधिकारबारे सचेतना अभिबृद्धि गर्ने रहेको थियो । तालिममा सहभागीहरुलाई नेपालको सन्दर्भमा जलवायु परिवर्तन र यस सम्वन्धी नीति, कार्यक्रम तथा परियोजनाहरुबारे पनि जानकारी दिइएको थियो ।

तालिममा जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धी अन्तर्गतका पेरिस र कानकुन सम्झौताहरु लगायतका अन्तर्राष्ट्रिय दस्तावेजहरुमा भएका प्रावधानहरु, नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु र त्यसबाट सिर्जित दायित्वहरु एवं त्यससम्वन्धी नेपालका राष्ट्रिय कानुनहरुको अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरी जलवायु परिवर्तन अनुकुलन र न्युनीकरण, रेडप्लसमा आदिवासी जनजातिका सवालहरु, हानी तथा नोक्सानी, राष्ट्रिय अनुकुलन योजना, नेपालको राष्ट्रिय योगदान दस्तावेज २०२०, जलवायु वित्त र नेपालमा यसको परिचालन, हरित जलवायु कोष र परियोजनाहरु, आदिवासी नीतिको प्रावधानहरुको अर्थ र सन्दर्भमा पनि छलफल गरिएको थियो ।