Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन योजनाबारे छलफल सम्पन्न

बिहिवार, मे 13th, 2021

नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा यही २०७७ चैत्र १० देखि ११ गते सम्म पोखरामा ‘‘समुदायस्तरमा अन्तरपुस्ता संवाद र तालिम’’ विषयमा दुई दिने गोष्ठी सम्पन्न भयो । कोराना महामारीसम्बन्धी सुरक्षा सतर्कता अपनाई आयोजित गोष्ठीमा विभिन्न उमेर समूहका २३ जना सहभागीहरुको उपस्थित रहेको थियो । कोरोना महामारी र कोरोना संक्रमणको जोखिमको कारण सीमित सहभागीहरुबीच सो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम अवधिमा स्वास्थ्य सामग्रीहरु जस्तै फेसशिल्ड, फेसमास्क, सेनिटाइजरको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम अवधिभर भौतिक दुरी लगायत अन्य स्वास्थ्य सावधानी अपनाइएको थियो । कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर राख्दै कार्यक्रम स्थलमा सहभागीहरुलाई तोकिएको आफ्नै स्थानमा मात्र बस्ने व्यवस्था गरिएको थियो ।

गोष्ठीमा जलवायु परिवर्तनसम्वन्धी विषयहरुको अधावधिक र जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि अन्र्तगत (UNFCCC) का पेरिस सम्झौता र सम्बन्धित अन्य अन्तर्राष्ट्रिय दस्तावेजहरुमा भएका आदिवासी जनजातिसम्वन्धी मुख्य मुख्य निर्णय र प्रावधानहरुबारे प्रकाश पारियो । यसै सन्दर्भमा सम्वन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुका साथै नेपालले जनाएका प्रतिवद्धताहरु र त्यसवाट सिर्जित दायित्वहरु सम्वन्धी पनि छलफल गरियो । कार्यक्रममा जलवायु परिवर्तनका हानी र नोक्सानी (Loss and Damage) बारे छलफल र नेपालको राष्ट्रिय अनुकुलन योजना (National Adaptation Plan/NAP) बारे अध्यावधिक गरिएको थियो । कार्यक्रममा महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक टुङ्ग भद्र राई लगायत धेरैजना जलवायु परिवर्तन विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजातिसँग परामर्श मात्र नगरी समुदायस्तरमा नै छलफल गरी अगाडी बढ्नुपर्ने, साथै त्यस्ता छलफलहरुमा आदिवासी जनजातिका संस्थागत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्र्ने र आदिवासी महिलाका मुद्दाहरुलाई पनि समेटिनु पर्ने कुरामा जोड दिइयो ।