Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

अन्नपुर्ण क्षेत्रका आदिवासी जनजातिको सँस्कृती र प्रकृतिविचको साईनो र सम्झनाहरुको पुनर्ताजगी सम्वन्धी तालिम–कार्याशाला गोष्ठी सम्पन्न

शुक्रवार, जुलाई 18th, 2025

पोखरा । नेपाल आदिवासी जनजाति महासँघ अन्तर्गत जलवायु परिवर्तन साझेदारी कार्यक्रमले पोखरामा तीन दिने कार्यशाला गोष्ठीको आयोजना ग¥यो । यहि मिति २०२५ जुन ३ देखि ५ तारिखसम्म पोखरामा ‘‘अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षण’’ सम्बन्धी तीन दिने प्रशिक्षण तथा कार्यशाला गोष्ठी आयोजना सम्पन्न भएको हो ।
कार्यक्रममा साईनो परियोजना क्षेत्र लमजुङ, मुस्ताङ र कास्की जिल्लाका आदिवासी जनजातिहरूमध्ये ३१ जना पुरुष र २९ जना महिला गरी जम्मा ६० जना सहभागी रहेका थिए । सामुदायिक रेडियोहरूबाट ‘साइनो’ रेडियो कार्यक्रम निर्माण तथा प्रसारण गर्दै आएका पत्रकारहरू पनि प्रशिक्षणमा सहभागीता जनाएका थिए ।
कार्यशाला गोष्ठीमार्फत आदिवासी जनजातिहरूको प्राकृतिक स्रोतसँगको सम्बन्ध र अधिकारबारे छलफल गरी जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी सूचना आदानप्रदान गरी सहभागीलाई जानकारी प्रदान गरिएको थियो । कार्याशाला गोष्ठीले सँवाद र अन्तरक्रियामार्फत आदिवासी जनजातिहरूबीचको ज्ञान र अनुभवको आदानप्रदान गर्न सहज वातावरण बनाएको थियो ।
कार्यक्रमलाई उपलब्धीमूलक र फलदायी बनाउन आयोजकले निम्न सत्रहरू सञ्चालन गरेको थियोः
१) साईनो परियोजनाको संक्षिप्त परिचय ।
२) जलवायु परिवर्तन, यसका कारण र स्थानीय र विश्व सन्दर्भमा यसले सिर्जना गरेका असरहरू ।
३) संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचना सम्वन्धी खाका महासन्धि (UNFCCC) को परिचय ।
४) जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरण र आदिवासी जनजातिहरूको जीवनशैली र ज्ञानको महत्व ।
५) नेपालको राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contribution/NDC) बारे जानकारी र आदिवासी जनजातिहरूको दृष्टिकोण ।
६) जैविक विविधता र आदिवासी जनजातिहरूबीचको अन्तरसम्बन्धका चुनौतीहरू र अवसरहरू ।
७) आदिवासी जनजातिहरूको ज्ञान, प्रणाली र दृष्टिकोणको पुस्तान्तरण ।
८) विशिष्ट जीवनशैली र ज्ञान प्रणालीको निरन्तरतामा आदिवासी महिला र युवाहरूको भूमिका ।
९) परम्परागत शासन प्रणाली र प्रथाजनित संस्था ।
१०) साईनो रेडियो कार्यक्रम र सामाजिक सञ्जालको संक्षिप्त जानकारी ।
११) जैविक विविधता महासन्धि (CBD) र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (NBSAB) मा आदिवासी जनजातिका मुद्दाहरू ।
१२) गुनासो सुनुवाई सम्बन्धि जानकारी ।

कार्यशालामा कार्यपत्र प्रस्तुति, भिडियो प्रदर्शन, समूह छलफल, प्यानल छलफल (महिला, युवा, प्रथाजनित अगुवाहरुको प्रतिनिधित्वमा) सामूिहक कार्य, प्रश्नोत्तर सत्र र सांस्कृतिक गीत तथा नृत्य प्रस्तुतिको माध्यमबाट अन्तरक्रियालाई फलदायी र मनोरञ्जनात्मक बनाइयो । तीन दिने प्रशिक्षण कार्यशालाले सहभागीहरूलाई माथी उल्लेख गरिएका विषयमा गहिरो छलफल गर्न र स्पष्टता ल्याउन पर्याप्त अवसर प्रदान ग¥यो । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी सन्धि सम्झौता तथा कार्यहरूबारे अद्यावधिक जानकारी प्राप्त गरे । सँवाद र अनुभव आदानप्रदानले सहभागीहरूलाई जलवायु कार्य र जैविक विविधताको हरेक पक्षमा आफ्ना अधिकार दाबी गर्न प्रेरणा दिएको सहभागीहरुको प्रतिक्रिया थियो ।

आदिवासी जनजातिहरूलाई जलवायु कार्य र जैविक विविधता सँरक्षणमा केवल सरोकारवाला मात्र नभई अधिकारवालाको रूपमा मान्यता दिनु आवश्यक रहेको गोष्ठीमा सहभागीहरुले प्रष्टयाएका थिए । साथै, कार्यशाला गोष्ठीले युवा, वृद्ध, महिला र प्रथाजनित अगुवाहरुसँगै सिक्ने र आपसी सम्बन्ध सुदृढ गर्ने अवसर प्रदान ग¥यो । सहभागीहरूले ज्ञान, सीप, भाषा र सँस्कृतिको पुस्तान्तरण आदिवासी समुदायहरूमा ठूलो चुनौती बन्दै गएको धारणा राखेका थिए । यस्तो परिस्थितिमा साईनो परियोजना जस्ता प्रयासहरूले पुस्तान्तरित अन्तर घटाउने र सबैमा उत्तरदायित्वको भावना विकास गराउने महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।