latest / News
लोबा/लोवा आदिवासी जनजातिलाई जलवायु परिवर्तनसम्वन्धी तालिम प्रदान
बुधवार, अक्टोबर 18th, 2023
मुस्ताङ । काठमाडौंबाट लगातार तिन दिनको यात्रापछि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जलवायु परिवर्तन साझेदारी कार्यक्रम टोली हिमालपारीको जिल्ला चिसो मरुभुमी भनेर चिनिने लोबा/लोवा आदिवासी जनजातिको भूमि मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आइपुगेको छ । यस गाउँपालिकाका लोवा गाउँहरू तिब्बतसँग सीमा जोडिएको समुन्द्री सतहबाट ३८५० मिटर उचाइमा अवस्थित छ । ती लोवा गाउँहरूमा आदिवासी जनजाति, तिनीहरूका समस्याहरू, जलवायु परिवर्तन र यसका असरहरूबारे सचेतना जगाउने सन्दर्भमा समुदायसम्म पुग्न सकेको छैन । यो यात्राको मुख्य उद्देश्य लोवा आदिवासी जनजातिहरुसँग अन्तरक्रिया गर्नु, उनीहरुको जीवनशैली, जलवायु परिवर्तनको असर र आदिवासी जनजातिका समस्याहरुको अवलोकन गर्नु रहेको थियो । यात्राको उद्देश्य प्राप्तिका लागि लोमान्थाङमा लोवा आदिवासी जनजातिहरूका बीच यही असोज ०७ देखि ०९, २०२३ सम्म तीन दिने तालिम र कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनको बारेमा सचेतना जगाउने, जलवायु परिवर्तन, यसको असर, आदिवासी जनजातिको समस्या र जलवायु परिवर्तन कार्यमा उनीहरूको योगदानका बारेमा लोवा आदिवासी जनजातिसँग अन्तरक्रिया गर्नु रहेको थियो ।
लोमान्थाङ गाउँपालिकाको आमा समूह भवनमा भएको कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका पाँच वडाका २६ पुरुष र ३३ महिला गरी जम्मा ५९ जनाको सहभागिता रहेको थियो । लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष श्रीमती छ्युमी विष्ट र पूर्व घ्याम्बा (परम्परागत गाउँपालिका) तथा वडा अध्यक्ष श्री ड्यूक विष्टले छुमे (बत्ती) बाली लोवा परम्पराबाट कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसपछि खटक (शुभकामनाका ८ चिन्हसहितको परम्परागत स्कार्फ) र नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक श्री तुंगा भद्र राईले कार्यशालाको उद्देश्यवारे प्रष्ट पार्नुभयो । गाउँपालिकाका प्रतिनिधिहरूले कार्यशालाको सफलताको कामना व्यक्त गर्दै सहभागी सबैलाई कार्यशालाबाट बढी भन्दा बढी जानकारी प्राप्त गर्न अनुरोध गरे ।
सत्रको मुख्य छलफलमा जलवायु परिवर्तनसम्वन्धी पृष्ठभुमी, न्यूनीकरण र अनुकूलन, जलवायु परिवर्तनबाट हुने हानी र नोक्सानीलगायत गैर (आर्थिक हानी र नोक्सानी), संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्वन्धी अन्तर्राष्ट्रिय खाका महासन्धि (UNFCCC), पक्ष राष्ट्रहरुको सम्मेलन (Conference of Parties-COP), राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contribution-NDC) को बारेमा प्रस्तुतीकरणका साथै छलफल, विचारविमर्श गरिएको थियो । नेपालको आदिवासी जनजातिका चुनौती र अवसरहरू, अन्य विषयवस्तुहरू लगायत नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमका स्रोत व्यक्तिहरूले विभिन्न अन्तरदृष्टिपूर्ण (गहनरुपमा) र रचनात्मक प्रस्तुतीकरण र भिडियोहरू मार्फत माथि उल्लेखित विषयहरूमा जानकारी प्रदान गरेका थिए । सहभागीहरुले आ–आफ्नो क्षेत्रको सन्दर्भमा आफ्ना अनुभवहरु पनि आदानप्रदान गरेका थिए ।
छलफलका मुख्य विषयवस्तुहरु र सहभागीहरूले आदानप्रदान गरेका तथ्यहरूले जलवायु परिवर्तनका असरहरू जस्तै पानीका स्रोतहरू सुक्नु, गाउँको स्थानान्तरण, वर्षाको ढाँचामा परिवर्तन र घरको छाना चुहावट, घर, गुम्बा, स्तूपा र अन्य स्मारकहरू भत्किने र जीर्ण हुने कारण देखाएको छ । भारी वर्षाको सामना गर्न माटोका घरहरू र स्मारकहरू पक्की (इट्टा, सिमेन्ट, वालुवा) ले प्रतिस्थापन गरिएको देखियो । यसबाहेक, हिमपातको ढाँचामा आएको परिवर्तनले चरिचरन भूमि, कृषि, पशु चरनलाई असर गर्ने र पशुपालन अभ्यासमा गिरावट आएको बताएको छ । अर्काेतर्फ, स्याउ खेती र तरकारी खेतीका साथै अन्य कृषी क्षेत्रमा जलवायु परिवर्तनका कारण अवसरको रूपमा पनि देखिएका थिए ।
तालिम–कार्यशालामा सहभागी हुन पाउँदा सहभागीहरू अत्यन्तै उत्साहित थिए र उनीहरूमध्ये अधिकांशका लागि यो पहिलो, फलदायी र ज्ञान आदानप्रदानको अवसर भएकोले उनीहरूले कार्यक्रम आयोजकप्रति कृतज्ञता व्यक्त गरे । यस प्रकारको पहल लोमान्थाङ जस्ता दुर्गम ठाउँमा सहयोगी हुने सहभागीको प्रमुख सुझाव थियो । उनीहरूले जलवायु परिवर्तनका पक्षहरू, यस क्षेत्रको सामाजिक, सांस्कृतिक र आध्यात्मिक मूल्यमान्यता र जीवन शैलीमा पार्ने प्रभावबारे केही अनुसन्धान गर्न र सोही अनुरूप समाधानको पहल गर्नुपर्ने पनि सुझाव दिए ।