latest / News
पोदोङ पहलः अधिकारमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षणमा समुदाय स्तरको तालिम–कार्याशाला गोष्ठी सम्पन्न
मङ्गलवार, जुलाई 15th, 2025
बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु ः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा र IUCN संगको सहकार्यमा ‘‘पोदोङ आदिवासी जनजाति पहल’’ अन्र्तगत अधिकारमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षणमा समुदाय स्तरको क्षमता अभिबृद्धि तालिम–कार्याशाला गोष्ठी सम्पन्न भएको छ । उक्त तालिम–गोष्ठीमा ५ वटा गाउँ (बाँसगढी, बोडगाउँ, सिम्पाल, छेस्काम र मामेर्कु) का आदिवासी जनजाति प्रथाजनित संस्थाका अगुवाहरु, संघसंस्थाहरु, आमा समुह, युवा क्लबका साथै सरकारी संस्थाका प्रतिनिधीहरु (गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष) सहित जम्मा ४३६ जना (१३४ पुरुष र ३०२ महिला) सहभागीहरुलाई तालिम प्रदान गरिएको हो ।
प्राकृतिक स्रोत ब्यवस्थापन, जलवायु परिवर्तन र जैविक विविधतासम्वन्धी राष्ट्रिय र अन्र्तराष्ट्रिय नीतिहरुमा आदिवासी जनजातिको अधिकार, मुद्दा र सरोकारहरुको उठान गर्नु र सो सम्वन्धी सचेतना र क्षमता अभिबृद्धि गर्नु तालिम–गोष्ठीको मुख्य उद्देश्य रहेको थियो । संघिय परिषद सचिवालयका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ति भुजेल, महासचिव दिवस राई, उपाध्यक्ष लाक्पा शेपा (ढोक्प्या), कोषाध्यक्ष विमल सारु, स्रोतब्यक्ती बसन्त सुब्बा आदिले आ–आफ्नो प्रस्तुतीकरणमार्फत तालिम प्रदान गर्नुभएको थियो ।
यस तालिम–गोष्ठीमा, पोदोङ आदिवासी जनजाति पहल परियोजना सम्वन्धी जानकारीका साथै जलवायु परिवर्तन र यसका असरहरुबाट बच्न गरिएका प्रयासहरु, जैविक विविधता र यसको संरक्षणमा आदिवासी जनजातिको परम्परागत ज्ञान, सीप, जिवनपद्दती, संस्कार संस्कृति आदिको भुमिकाबारेमा सहभागीहरुलाई सुसूचित गराइएको थियो । तालिममा जलवायु परिवर्तन र जैविक विविधतामा आदिवासी जनजाति अधिकार र सवालहरुबारे भिडियो डकुमेन्ट्री, नक्सांकन, सहभागीहरुको अनुभव आदानप्रदान, प्रस्तुतीकरण र सम्वन्धीत प्रकाशनहरु वितरण गरिएको थियो ।
जलवायु परिवर्तनको नकारात्मक असरहरुबाट बच्न र प्राकृतिक स्रोत ब्यवस्थापन, जैविक विविधता संरक्षणको लागी आदिवासी जनजातिको परम्परागत ज्ञान शिप र अभ्यास जिवनशैलीको विकल्प नरहेको, भविष्यमा अझ थप कठिनाईहरु भोग्नुपर्ने हुनाले आदिवासी जनजातिहरु एकजुट हुन र यस्ता क्षमता अभिबृद्धिसम्वन्धी तालिम गोष्ठीहरु नियमित हुनुपर्ने सहभागीहरुले सुझाएका थिए ।