latest / News
पोदोङ पहलः आदिवासी जनजातिको सम्पदा, पहिचान संरक्षण र निरन्तरताको अभियान
आइतवार, डिसेम्बर 28th, 2025
पोखराः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा International Union for Conservation of Nature (IUCN) सँगको सहकार्यमा “पोदोङ आदिवासी जनजाति पहल” अन्र्तगत २०८२ पुष ८ देखि १० गेतसम्म (डिसेम्बर २३ देखि २५, २०२५) पोखरास्थित होटल माउन्ट कैलाश रिसोर्टमा ३ दिने सामुदायिक प्रशिक्षण कार्याशाला सम्पन्न गरयो । यस कार्यक्रमको उद्देश्य प्रकृति, आदिवासी जनजातिहरुको परम्परागत ब्यवहार र जलवायु परिवर्तनका असरहरुबीचको मौलिक सम्बन्धका बारेमा सहभागीहरुको बुझाई अभिबृद्धि गर्नुथियो । कार्यक्रममा आदिवासी तथा प्रथाजन्य प्रणाली, आदिवासी उत्पादन, साँस्कृतिक भेषभुषा, गीत र नृत्यहरुको प्रदर्शन गरिएको थियो । साथै, आदिवासी जनजातिहरुको बिश्वदृष्टिकोण, जीवनशैली, भुमि–क्षेत्र र उनीहरुको संस्कृति तथा सामूहिक अधिकारहरूका बारेमा विस्तृत चर्चा गरिएको थियो। अचेल नदी, पहाड र जनावरहरू लगायतका प्राकृतिक वातावरण—जसको प्रायः आध्यात्मिक महत्त्व हुन्छ—तिनीहरूलाई उपेक्षा गर्ने गरिएको र कम मान्यता दिने अवस्था सिर्जना भएको छ।
प्रकृतिप्रति गहिरो सम्मान जगाउने यस्ता आस्था, जसले उनीहरूको संस्कार, कथा र अभ्यासहरूलाई मार्गदर्शन गर्दछ, त्यसलाई हुनुपर्ने जति मान्यता दिइएको छैन। हाम्रो तर्क यो हो कि, आदिवासी जनजातिहरूको ज्ञानको मूल्य र उनीहरूको आफ्नै पारिस्थितिक प्रणाली (Ecosystem) का बारेमा सञ्चित एवं समयको कसीमा खरो उत्रिएको अथाह ज्ञानलाई उच्च कदर गरिनु आवश्यक छ। राष्ट्रिय निकुञ्ज र संरक्षणका कडा नियमहरू तथा तिनको विस्तारका कारण आदिवासी जनजाति समुदायहरूले भोग्नु परेका चुनौती र समस्याहरूका बारेमा पनि चर्चा गरिएको थियो।
यस कार्यक्रममा नगरपालिकाका प्रमुख (Chairperson), वडा अध्यक्षहरू, थारू समुदायका बडघरहरू, सामाजिक परिचालकहरू, तामाङ, माझी, राई र शेर्पा केन्द्रीय समितिका प्रतिनिधिहरू, युवा समूहका सदस्यहरूका साथै सिम्पल, बोडगाउँ (सिन्धुपाल्चोक), छेस्काम, मामेर्कु, (सोलुखुम्बु) र बाँसगढी (बर्दिया) का आदिवासी जनजातिका परम्परागत संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसका साथै, संघिय परिषद सचिवालयका सदस्यहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
सहभागीहरूलाई उनीहरूको समुदाय अनुसार विभिन्न समूहमा विभाजन गरी ‘पोदोङ’ (PODONG) अभियान अन्तर्गत हालसम्म सम्पन्न भएका कार्यहरूको सूची तयार गर्न लगाइएको थियो। बोडेगाउँ, छेस्काम-मामेर्कु, काभ्रे सिम्पल, महाकुलुङ र बाँसगढीका सहभागीहरूले आ–आफ्नो सांस्कृतिक भेषभूषामा सजिएर मञ्चमा प्रदर्शन (Modelling) मार्फत प्रस्तुतीकरण दिएका थिए भने उक्त सांस्कृतिक पदयात्रा (Walk) को नेतृत्व तुङ्ग भद्र राईले गर्नुभएको थियो। यस प्रदर्शनले प्रकृति, जैविक विविधता, संस्कृति र सामाजिक मूल्य-मान्यताहरू बीचको सम्बन्धलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेको थियो। यस क्रियाकलापको अन्त्यमा, सहभागीहरूले साझा कार्ययोजना तयार पार्नुका साथै यी सिकाइहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना समेत निर्माण गरे।