Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

आदिवासी जनजाति अगुवाहरुलाई जलवायु परिवर्तन सम्वन्धी क्षेत्रिय स्तरको तालिम सम्पन्न

सोमवार, सेप्टेम्बर 20th, 2021

काठमाडौं, असोज २०७८ ः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा जलवायु परिवर्तन र आदिवासी जनजातिको अधिकारवारे क्षेत्रीय स्तरको तालिम तथा कार्याशाला गोष्ठी यही २०७८ भदौ २३ देखि २५ गतेसम्म पोखराको ल्याण्डमार्क होटलमा सम्पन्न भयो । कार्यक्रममा नेफिन जिल्ला समन्वय परिषद, नेफिन प्रदेश समन्वय परिषद र नेफिन संघीय परिषद सचिवालयका पदाधिकारीसहित ८ महिला र १३ पुरुष गरी जम्मा २१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गणेश थकालीले जलवायु परिवर्तन विश्वब्यापी रुपमा उग्र चुनौती बन्दै गइरहेको अवस्थामा जलवायु परिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय स्तरमा वन्ने आदिवासी जनजाति लक्षित नीति तथा कार्यक्रमहरुमा राज्यले ध्यान नदिएको अवस्था रहेको बताउनु भयो । त्यसैले जलवायु परिवर्तन सम्वन्धी बन्ने विभिन्न संयन्त्रहरुमा आदिवासी जनजातिको अधिकारवारे आदिवासीलाई पूर्ण ज्ञानहुनु जरुरी रहेको उहाँको भनाई थियो । आदिवासी जनजातिको परापूर्वकालदेखि नै जल, जमिन र जंगलसँग अन्योन्याश्रित सम्वन्ध रहि आएकोले जलवायु परिवर्तनको पहिलो र प्रत्यक्ष असर आदिवासी जनजातिलाई नै पर्ने गरेको र यसलाई न्यूनीकरण गर्न सचेत भएर लागी पर्नुपर्ने उहाँले बताउनु भयो ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को त्रास अझै कायमै रहेकोले महामारी सम्वन्धी स्वास्थ्य सुरक्षा सर्तकता अपनाई आयोजना गरिएको सो गोष्ठी सिमित सहभागीहरुबीच सम्पन्न गरिएको थियो । उक्त गोष्ठी अवधीमा स्वास्थ्य सामाग्रीहरु जस्तै, फेसशिल्ड, फेसमास्क, सेनिटाइजरको व्यवस्था गरिएको थियो । गोष्ठी अवधीभर भौतिक दुरी कायम गरिनुका साथै अन्य स्वास्थ्य सावधानीका उपायहरु अपनाइएको थियो ।

उक्त ३ दिने तालिम–गोष्ठीको नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक महासचिव सुखवीर थामीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्रोत ब्यक्तिहरु मार्फत जलवायु परिवर्तन, यसका कारण र असरहरु, जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि, पेरिस सम्झौता र आदिवासी जनजातिका सवालहरु, जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरण, हानी र नोक्सानी, जलवायु परिवर्तन न्यूनीकरणका उपाय रेडप्लस र रेडप्लसमा आदिवासी जनजातिका सवालहरु, राष्ट्रिय अनुकुलन योजना, राष्ट्रिय प्रतिवद्धता योगदान दस्तावेज–२०२०, जलवायु वित्त, हरित जलवायु कोष (GCF) र IUCN को गण्डकी नदी प्रणाली परियोजनाको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।