जलवायु परिवर्तन सम्बोधन कार्यमा राज्यले आदिवासी युवालाई समाहित गर्नुपर्ने

Share It

आदिवासी जनजाति युवा वर्गलाई वर्तमान विश्व जगतको एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय जलवायु परिवर्तनको असर, क्षति र विनासबारे सचेत गराउने तथा यसको न्यूनीकरण र अनुकूलनको लागि क्रियाशील भई लाग्न प्रेरित गराउने उद्देश्यका साथ नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा जलवायु परिवर्तन र युवा सहभागिता विषयक दुई दिने तालिम गत असोजको ३१ र कार्तिक १ गते पोखरामा सम्पन्न भयो । सहभागीहरुलाई नेपालको सन्दर्भमा जलवायु परिवर्तन र यस सम्बन्धी नीति, कार्यक्रम तथा परियोजनाहरुबारे जानकारी दिने तथा उनीहरुको जलवायु परिवर्तन र आदिवासी जनजातिका सवालहरु, सामुहिक अधिकार, जल, जमिन र जंगलसँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्ध र अधिकारबारे सचेतना अभिवृद्वि गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको थियो ।

तालिममा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धी अन्तर्गतका पेरिस र कानकुन सम्झौताहरु लगायतका अन्तर्राष्ट्रिय दस्तावेजहरुमा भएका प्रावधानहरु, नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु तथा त्यसबाट सृजित दायित्वहरु एवं त्यस सम्बन्धी नेपालका राष्ट्रिय कानूनहरुको अवस्थाबारे आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रका राष्ट्रिय संयोजक टुङ्ग भद्र राईले प्रस्तुतीकरण गर्नुभयो। त्यस्तै, किरण कुमार बरामले जलवायु परिवर्तन र त्यसबाट सृजित क्षति र विनाशबारे छलफलको सहजीकरण गर्नुभयो । जलवायु परिवर्तनले आदिवासी समुदायमा पारिरहेको प्रभावहरुलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे कुमार थापा प्रस्तुतीकरण र छलफलको सहजीकरण गर्नुभयो । कार्यत्र्रmममा आदिवासी जनजाति अपाङ्ग संघ, आदिवासी जनजाति युवा महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल र नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयका प्रतिनिधिहरु गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो ।
सहभागी युवा नेतृत्वहरुले युवा परिवर्तनको संवाहक भएको कारण जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको लागि सिर्जनात्मक तवरवाट आदिवासी समुदायहरुको पृथक मुद्दाहरुप्रति सबै सचेत हुँदै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको र राज्यले पनि आदिवासी युवालाई यस जलवायु न्यूनीकरण र अनुकूलनका अभियानमा प्रमुख भूमिका दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

हामीलाई फेसबुकमा लाइक गर्नुहोस

  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस